प्रधानमन्त्री कोइरालामा क्षयरोगको आशंका

२७ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई क्षयरोग (टिबी) को संक्रमण देखिएको आशंकामा चिकित्सकहरुले छातीको जाँच गरेका छन् । कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रारम्भिक चरणको क्षयरोगका संकेत देखिएकाले सघन उपचारको आवश्यकता देखिएको छ ।
क्यान्सरको थेरापीलगत्तै कतिपय बिरामीमा क्षयरोगका संक्रमण देखिने गरेको भरतपुर क्यान्सर अस्पतालका डाक्टर विश्व पौडेल बताउँछन् ।

कोइराला परिवारका सदस्य कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा क्षयरोगको आशंका गरिएको बताए । तर ,आफूले रिपोर्ट हेर्न नपाएकाले यसबारे विस्तृत जानकारी नभएको उनले बताए ।
प्रधानमन्त्री कोइरालामा खोकी बढेको छ । डा. शेखरका अनुसार सुशीलमा देखिएको खोकीका तीनवटा कारण हुन सक्छन् । उनी भन्छन्- ‘क्यान्सरको रेडिएसनपछि त्यसको असरका कारणले पनि खोकी लाग्न सक्छ । दोस्रो, इन्फेक्सन भएको हुन सक्छ र तेस्रो, ट्युबरकुलोसिस (टीबी) लागेको हुन सक्छ ।’
आफैं मेडिकल डाक्टरसमेत रहेका कांग्रेस नेता शेखरले भने-’ ट्युमरलाइसिस वा इन्फेक्सन पनि छैन भनिसकेपछि ट्युबरकुलोसिस (टीबी) को पनि पक्कै परीक्षण गरिएको हुनुपर्छ ।’
प्रधानमन्त्रीनिकट स्रोतले क्षयरोगको संक्रमणबारे परीक्षण गरिएको स्वीकार गरेको छ । ‘आत्तिनुपर्ने केही छैन, बाहिर धेरै हल्लाहरु हुने भएकाले सामान्य ढंगबाटै उपचार भइरहेको छ’ स्रोतले भन्यो ।
स्रोत अनुसार कोइरालालाई क्षयरोग भए, नभएको उनका निजी चिकित्सक करवीरनाथ योगीले नै जाँच गरेका छन् । योगीले अनलाइनखबरसँग यसबारे केही बताउन चाहेनन् । ‘अहिले केही पनि भन्दिँन, उहाँले ३ महिना आराम गर्नुपर्छ त्यही हो’ योगीले भने ।
योगीका अनुसार गत बिहीबार ओम अस्पतालमा कोइरालाको छातीको सिटी स्क्यान गरिएको छ । पछिल्लो समयमा उच्च ज्वरो, रक्तचाप बढ्नुका साथै खोकीसमेत लाग्न थालेपछि छातीको सिटी स्क्यान गरिएको हो । थेरापीपछि क्यान्सर भने घटेको देखिएको छ ।
फोक्सोको क्यान्सरको प्रारम्भिक उपचार गराएर फर्किएलगत्तै क्षयरोगको संक्रमण देखिनुृ त्यति राम्रो संकेत नभएको जानकारहरु बताउँछन् ।
क्षयरोग (टीबी) निको हुने रोग हो । तर, क्यान्सरको उपचार गरेको विरामीमा इम्युनिटी पावर (प्रतिरोध क्षमता) कम हुने भएकाले यो गम्भीर हुन सक्ने चिकित्सकको भनाइ छ ।
रेडिएसन उपचारविधिको एक महिनापछि कमजोरीले बढी बढ्ता सताउने अमेरिकी डाक्टरको सुझावलाई स्मरण गर्दै बालुवाटार स्रोत भन्छ- ‘अहिले रेडिएसनको असरको पिक पिरियड भएकाले खान मन नलाग्ने लगायतका समस्या देखिएका छन् ।

,

0 comments

Write Down Your Responses