अब ड्राइभरसँगै युवती बस्न नपाउने
गाईघाट : सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप उदयपुर जिल्लाको कटारी क्षेत्रबाट सञ्चालन हुने ठूला तथा साना सम्पूर्ण सवारी साधनमा चालक नजिकको सिटमा युवती बस्न नपाउने निर्णय गरिएको छ।
हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारी र इलाका प्रशासन तथा प्रहरीसहितको कटारीमा बसेको बैठकले सवारी दुर्घटना कम गर्न यस्तो निर्णय गर्न परेको हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारीका प्रमुख शत्रुघन कार्कीले बताए।
चालक र युवती नजिकै या सँगै बस्दा बढी गफ हुने र त्यसबाट चालकमा एकाग्रता नरहने हुनाले पनि आफूहरुले सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप यस्तो निर्णय लिइएको हो।
यो निर्णय कानुन विपरीत देखिए तापनि यसले सवारी दुर्घटनामा कम गर्न सघाउ पुग्ने इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सरोज पौडेलले बताए।
आगामी दिन कटारीबाट सञ्चालन हुने सवारी साधनहरुमा चालकले युवती आफ्नो छेउमा या सँगै राखेर सवारी सञ्चालन गरेको भेटिए कम्तीमा पनि रु पाँच हजारसम्म चालकलाई जरिवाना गरिने छ।
चार दिनअघि मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले जिल्लामा सवारी दुर्घटना न्यून गर्न ११ बुँदे नीति तथा कार्यक्रमसमेत ल्याएको थियो।
अहिले उदयपुरको कटारी क्षेत्रबाट लामो तथा छोटो दूरीको गरेर झन्डै ६० भन्दा बढी सवारी साधन दैनिक सञ्चालन हुने गरेका छन्। रासस


0 comments
Write Down Your Responses