यूनिटीका नाममा जनता ठगेको पैसा ग्रिनसिटी अस्पतालमा

काठमाडौँ, ४ कात्तिक । राजधानीमा सबैभन्दा फस्टाएको बिजनेश भनेको अस्पताल हो । करोडौं लगानीमा टोल टोलमा नयाँ अस्पताल खोलिएको छ । कहाँबाट आएको छ त्यो लगानी ? सरकारले लगानीको स्रोत छानबिन गर्ने हो भने धेरैजसो लगानीकर्ताहरू जेल जाने अवस्था छ ।

राजधानीमा खुलेका ठूला अस्पतालमध्ये सामाखुशीको ग्रिन सिटी अस्पताल पनि एक हो । जसमा यूनिटी इन्टरनेशनलका नाममा जनता ठगेको पैसा लगानी भएको खुलेको छ ।
ग्रिन सिटीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् लोकबहादुर (एलबी) टण्डन । उनी यूनिटी प्रकरणमा एक नाइके हुन् । यूनिटीको नाममा सर्वसाधारणबाट लाखौं पैसा उठाइ ठगी गरेको मुद्दामा उनलाई अदालतले समेत दोषि ठहर गरीसकेको छ ।
चैतको २८ गते ललितपुर जिल्ला अदालतका न्यायधीश टेक बहादुर कुँबरको इजलाशले उनलाई तीन वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । तर अदालतको फैसला नटेरी पैसाको आडमा अस्पताल चलाएर बसेका टण्डन गत असोज ७ गते प्रहरीको फन्दामा परे । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ ग¥यो ।
कैदको साथै उनलाई अदालतले एक करोड छ लाख छब्बीस हजार दुई सय छयाहत्तर रुपैया उनान्चास पैसा जरिवाना पनि सुनाएको थियो । तर तीन वर्षसम्म कैद सजाय भएको खण्डमा जरिवाना र कैद सजाय बापत दिनको २५ रुपौयाँका दरले धरौटी राखेपछि मुद्दाको पुनरावदेन गर्नका लागि जेल बाहिरै बसेर मुद्दा लड्न सक्ने प्रावधान छ ।
त्यही प्रावधानका कारण उनले रातारात एक करोड रुपौयाँ जम्मा गरेर चार दिनपछि छुटे । तर त्यसरी रातारात एक करोड बुझाउने पैसा कहाँबाट आयो र उनको अस्पतालको लगानीको स्रोतबारे कुनै अनुसन्धान सुरु भएको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे अनुसन्धान गर्नुपर्ने हुन्छ ।
टण्डनजस्तै यूनिटीकै पैसामा अस्पतालमा खोल्ने अर्का व्यक्ति गोविन्द ज्ञवाली हुन् । जो विनायक अस्पतालका संचालक हुन् । उनलाई पनि अपराध महाशाखाको टोलीले गत असोज ८ गते पक्राउ गरेकोमा उनी भने जेलमै छन् ।
यूनिटी ठगी प्रकरणमा पक्राउ परेका पूर्वअध्यक्ष काशी गुरुङ जेलमा छन् भने अर्का नाइके बिष्णु क्षेत्री कान्छी श्रीमतीसाथ भारतमा लुक्दै आएका छन् ।
संचालकहरूलाई सामान्य सजाय भएर अधिकांश छुटिसकेका छन् । तर प्रलोभनमा परी ठगिएका एक लाखभन्दा धेरै यूनिटी इन्टरनेशनलका सदस्यहरूले अहिलेसम्म क्षतीपूर्ति पाउन सकेका छैनन् । सरकारले यूनिटीको सम्पती रोक्का राखेर छानबिन गरिरहेको छ ।
dainiknepal.com

,

0 comments

Write Down Your Responses